काठमाडौँ, ४ साउन । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा केही उत्तरतिर सरेको हुँदा आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेको छ। साथै देशको उच्चपहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर सामान्यतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने उल्लेख मौसम बुलेटिनमा गरिएको छ ।
विभागले वर्षासँगै बाढी, पहिरो तथा अन्य जोखिमबाट सतर्क रहन सबैमा आग्रह समेत गरेको छ।