आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

देशका विभिन्न स्थानमा भारी वर्षा मापन, कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर


  • 982
    SHARES
  • https://indrenipost.com/posts/9566
    साउन ४, २०८२ आइतबार
    देशका विभिन्न स्थानमा भारी वर्षा मापन, कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर

    काठमाडौँ, ४ साउन – पछिल्लो १२ घण्टामा देशभर विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा कास्की जिल्लाको लुम्लेमा मापन गरिएको छ, जहाँ एक सय ५१ मिलीमिटर पानी परेको छ ।
    त्यस्तै, पूर्वी नेपालका अन्य स्थानहरूमा पनि उल्लेखनीय वर्षा मापन गरिएको छ । सुनसरीमा एक सय ३०, धनकुटामा एक सय २१, र इलामको माइपोखरीमा पनि एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चारै स्थानमा अति भारी वर्षा मापन भएको विभागले जनाएको छ ।
    विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर सरेको हुँदा वर्षा गराउने प्रणाली विकास भएको हो । पूर्वमा बढी वर्षा भइसकेको र अब यो प्रणाली मध्य तथा पश्चिमतर्फ सर्दै गएको अधिकारीले जानकारी दिनुभयो । भोलिसम्म भारी वर्षा हुने सम्भावना रहेको र त्यसपछि विस्तारै कमजोर हुँदै जाने उनको भनाइ छ ।
    सिन्धुपाल्चोक, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापा लगायतका जिल्लामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा मापन गरिएको छ । पहाडी क्षेत्रहरूमा झन बढी वर्षा भएकाले पहिरो र बाढीको जोखिम उच्च रहेको विभागको चेतावनी छ ।
    बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लाको मोदी खोलामा हालको जलसतह सतर्कता तह नजिक पुगेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
    त्यस्तै, बिहान इलामको कन्काइ मैनाचुली तथा सुनसरीको सार्दुल खोलामा पनि जलसतह सतर्कता तह आसपास पुगेको छ । सुनसरीकै बूढीखोला दुहबी जलमापन केन्द्रमा भने राति १ः२० बजे खतराको तह पार गरेपछि साइरन बजाइएको थियो ।
    विभागले आगामी दिनमा पनि मौसम बारे सचेत रहन आग्रह गर्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij