झापा, ४ साउन । खुला सीमाका कारण लागुऔषधको कारोबार तीव्र गतिमा बढ्दै गएको झापामा प्रहरीले त्यसविरुद्ध कडा अभियान चलाएको छ। चालु आर्थिक वर्ष २०८१।८२ मा मात्रै झापाबाट ५५९ जनालाई लागुऔषध सम्बन्धी अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो एक वर्षमा पक्राउ पर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ४६२ जना पक्राउ परेका थिए। की जेलमा की सुधार केन्द्रमा भन्ने नारासहित प्रहरीले लागूऔषध प्रयोगकर्तालाई सुधार गृह पठाउने अभियान पनि सञ्चालन गरिरहेको छ। गत वर्ष मात्रै १४० प्रयोगकर्तालाई अभिभावकको जिम्मामा सुधार केन्द्र पठाइएको छ।
प्रहरीले लागूऔषध विरोधी अभियान अन्तर्गत विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलो परिमाणमा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ। विर्तामोड नगरपालिका–५ स्थित मनकुमार सङ्ग्रौलाको घरमा दुई कोठा भाडामा लिएर भण्डारण गरिएको ती औषधिमा ब्राउनसुगर र अन्य प्रतिबन्धित औषधिहरूसमेत समावेश छन्। ती कोठा विनोद घिमिरे र भानुभक्त खरेलको भएको र खरेलले ‘सनलाइट फर्मा’ नामक औषधि पसल सञ्चालन गर्दै आएको खुलेको छ।
खड्काका अनुसार झापामा चालु आवमा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद गरिएको छ। कोशी प्रदेशमा मात्र २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद गरिएको छ भने दुई हजार ३७ जनाविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
झापाको मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबल क्षेत्रमा लागुऔषधको कारोबार बढी हुने गरेको छ। विशेष गरी भारतसँग १४४ किलोमिटर लामो खुला सिमानाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बनिरहेको प्रहरीले जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा चेकजाँच कडा बनाएको भए पनि कारोबारीले रणनीति बदल्दै शहरी क्षेत्रमा गोदाम खडा गरेर कारोवार गरिरहेको देखिएको छ।
लागुऔषधको असरबाट व्यक्ति, परिवार र समाजलाई जोगाउन प्रहरीले विद्यालय र समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। कोशी प्रदेश प्रहरी कार्यालयको ‘दुव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेंस्ट नारकोटिक’ अभियानमार्फत प्रहरी र समुदायबीच साझेदारी गर्दै दुव्र्यसनमुक्त समाज निर्माणको प्रयास भइरहेको छ।