काठमाडौँ, ४ साउन । मनसुनका बेला बाढी, पहिरो र भारी वर्षाका कारण अवरुद्ध हुने विद्युत् तथा सञ्चार सेवाको समस्या शीघ्र समाधान गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टले नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ।
कमाण्ड पोष्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसुन अवधिभर देशका विभिन्न स्थानबाट विद्युत् आपूर्ति र सञ्चार प्रणाली अवरुद्ध भएको गुनासो आउने गरेको जनाउँदै सो समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव सुरेश सुनारका अनुसार, बैठकले नेपाल टेलिकम, एनसेललगायतका दूरसञ्चार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्न विद्युत् प्राधिकरणलाई विशेष आग्रह गरेको छ।
साथै, बैठकले हालै रसुवामा गएको बाढीपछिको अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १८औँ बैठकबाट गरिएको निर्णय अनुसार, भन्सार, सडक, विद्युत् लगायतका पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गरेको छ।