काठमाडौँ, ७ साउनः निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका प्रमुख चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । देशका विभिन्न भेगमा सडक अवरुद्ध हुँदा यातायात आवागमन ठप्प भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक तथा रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर अवरुद्ध भएका छन ।
यस्तै, वर्षाको प्रभावले अवरुद्ध भएका अन्य ६ वटा राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । टोखा नगरपालिका –२ मा पर्ने काठमाडौँ–नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका क्षेत्रअन्तर्गत कालीगण्डकी करिडोर तथा रोल्पाको परिवर्तन गाउँपालिका क्षेत्रका ग्रामजिम, भुर्तिवाङ र धामाचौर आसपासको सहिद राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् ।
प्रहरीले ती क्षेत्रमा पहिरो हटाउने कार्य भइरहेको जनाएको छ र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको वर्षाले थप पहिरो खस्ने जोखिम रहेको हुँदा यात्रा गर्दा सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।