भरतपुर, ८ साउनः चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट गएको आर्थिक वर्ष २०८१।८२ मा ११ जनाले ज्यान गुमाएका छन् । हात्ती, गैँडा, बाघ जस्ता वन्यजन्तुको आक्रमणले मानव जीवनसँगै सम्पत्ति र पशुधनमा समेत ठूलो क्षति पुर्याएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सो अवधिमा सबैभन्दा बढी गैँडाको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । त्यस्तै, हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाले ज्यान गुमाएका हुन् ।
वन्यजन्तुको आक्रमणमा परेर ४१ जना घाइते भएका छन्, जसमध्ये ३२ जना गम्भीर र ९ जना सामान्य घाइते छन् । मृतक तथा घाइतेमध्ये धेरैजसो घाँस काट्न वा निगुरो टिप्न गएका व्यक्तिहरू रहेको जनाइएको छ ।
बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, चितुवा, अजिङ्गर र गौरीगाईजस्ता वन्यजन्तुको आक्रमण मानव जीवनका लागि चुनौती बन्दै आएको छ ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा निकुञ्ज क्षेत्रमा ७३ जनाको ज्यान वन्यजन्तुको आक्रमणबाट गइसकेको छ भने १६९ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७८र७९ मा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो, जसमा मात्र २१ जनाको ज्यान बाघको आक्रमणबाट गएको थियो ।
निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रका बासिन्दाहरू अनुमति लिएर घाँसदाउराका लागि सामुदायिक वन र निकुञ्जभित्र जाने गरेका छन् । यस क्रममा मानव र वन्यजन्तुको आमनेसामनेको अवस्था सिर्जना हुँदा ज्यानको जोखिम उच्च रहन्छ ।
मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाका अनुसार द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थान व्यवस्थापन गर्नु आवश्यक छ । निकुञ्जले यसका लागि जनचेतनामूलक कार्यक्रम र मेस जाली जस्ता सुरक्षाका उपायहरू अपनाइरहेको छ ।
वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशुमा पनि उल्लेखनीय क्षति पुगेको छ । निकुञ्जका तथ्याङ्कअनुसार १७९ वटा पशु मरेका छन्, जसमा चितुवाको आक्रमणबाट मात्रै १४० वटा, बाघको आक्रमणबाट ३७ वटा र अजिङ्गरबाट २ वटा पशु मरेका छन् ।
यस्तै, हात्तीले २३ वटा घरमा क्षति पुर्याएको छ । तीमध्ये १३ वटा घरको अन्न भण्डारमा मात्र क्षति पुगेको जनाइएको छ ।
निरन्तर बढ्दो मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न निकुञ्ज प्रशासन, स्थानीय समुदाय र सम्बन्धित निकायबीच समन्वय र दीर्घकालीन समाधान आवश्यक देखिएको छ ।