तानसेन पाल्पा, ८ साउन । पाल्पा जिल्लाबाट गएको एक आर्थिक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८१।८२ मा उक्त संख्यामा गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ‘नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८०’ लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र दिने नयाँ व्यवस्था सुरु भएको बताएका छन । सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकताको प्रमाण र सोही मुलुकको राहदानी जस्ता आवश्यक कागजात पेस गरेपछि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था छ, प्रजिअ सुवेदीले भने ।
उनका अनुसार यो नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक तथा प्रशासनिक बाहेक अन्य सम्पूर्ण अधिकारहरू प्रयोग गर्न पाउनेछन् । विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तहरूले यस नागरिकताका बारेमा चासो राख्दै कार्यालयमा जानकारी लिन आउने क्रम बढेको पनि उनले जानकारी दिए ।
गैरआवासीय नागरिकता लिनका लागि पहिलेको नेपाली नागरिकता त्याग गर्नुपर्ने र तोकिएको ढाँचामा निवेदन दिएर प्रमुख जिल्ला अधिकारी समक्ष शपथग्रहण गर्नुपर्ने प्रावधान रहेको छ। यो नागरिकता सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने गैरआवासीय नेपालीले प्राप्त गर्न सक्नेछन् ।
यसै अवधिमा जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट गरी १८ हजार ९ सय ६२ जनाले वंशजको आधारमा नागरिकता लिएका छन्। साथै, ६ हजार ९९८ वटा नागरिकताको प्रतिलिपि जारी भएको, १७ जनाले नागरिकता त्याग गरेको र १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको पनि प्रजिअ सुवेदीले जानकारी दिएका छन ।