महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन । मनसुनमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भई किसानमाझ देखिएको समस्या र त्यसको समाधानका लागि सरकारको गम्भीरता दर्शाउन प्रधानमन्त्री ओलीले स्थलगत निरीक्षणमा गएका छन ।
यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिसकेको छ। प्रधानमन्त्रीले यसअघि नै सम्बन्धित मन्त्री, प्रदेश सरकारका प्रतिनिधि र उच्चाधिकारीहरूसँग धान रोपाइँमा परेको असर र त्यसको सम्भावित समाधानका उपायहरूबारे छलफल गरेका थिए ।
अवलोकनका क्रममा प्रधानमन्त्री ओली महोत्तरी र बाराका विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन । यस भ्रमणले सुक्खा प्रभावित क्षेत्रका किसानका समस्यालाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतालाई थप बल पुर्याउने विश्वास गरिएको छ ।