दोधारा चाँदनी कञ्चनपुर, १० साउन — दुग्ध विकास संस्थान डिडिसीले मङ्सिर महिनादेखि किसानहरूसँग सङ्कलन गरेको दूधको रकम अहिलेसम्म भुक्तानी गर्न नसक्दा कञ्चनपुरका दूध उत्पादक किसानहरू आर्थिक मर्कामा परेका छन् ।
कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको झण्डै ६ करोड रुपैयाँ डिडिसीले तिर्न बाँकी रहेको छ । डिडिसीले समयमा रकम नदिँदा सहकारीहरूले पनि किसानलाई भुक्तानी गर्न नसकेको गुनासो गरेका छन् ।
“हामीले मङ्सिरयता मात्रै डिडिसीबाट ६० लाख रुपैयाँ पाउनुपर्ने बाँकी छ,” साथी कृषि सहकारीका अध्यक्ष कृष्णदत्त पनेरुले भने, “संस्थानले भुक्तानी नगर्दा हामीले पनि किसानलाई पैसा दिन सकेका छैनौँ ।”
पनेरुका अनुसार उनीहरूको सहकारीले दैनिक १,५०० जना किसानबाट दूध सङ्कलन गर्छ, जसमध्ये महिनामा झण्डै ५,००० लिटर दूध डिडिसीलाई पठाउने गरिएको छ । “हामीले तीन हजार लिटरसम्म स्थानीय बजारमै खपत गर्छौँ, बाँकी डिडिसीलाई दिन्छौँ,” उनले थपे ।
त्यसैगरी, साना किसान सहकारीका अध्यक्ष खगेश्वर पाण्डेले पनि संस्थानबाट मङ्सिरयताको २९ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताए । “संस्थानले रकम नदिँदा हामीले किसानको भुक्तानी बचत रकमबाट गर्नुपरेको छ,” उनले भने ।
यस सम्बन्धमा डिडिसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले अधिक दूध सङ्कलन हुने कात्तिकदेखि चैतसम्मको अवधिमा भुक्तानीमा केही ढिलाइ भएको स्वीकार गरेका छन । “कञ्चनपुरका सहकारी तथा फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ, तर तीन करोड ३७ लाख त भुक्तानी भइसकेको छ,” उनले भने, “छिट्टै बाँकी रकम पनि भुक्तानी हुन्छ।”
भट्टराईका अनुसार कञ्चनपुरबाट महिनामा औसत दुई हजार ५०० देखि चार हजार लिटर दूध सङ्कलन गरिँदै आएको छ ।
कृषकहरू भने अबको दिनमा डिडिसीसँग कारोबार निरन्तर राख्ने कि नराख्ने भन्ने अन्योलमा परेका छन् ।