काठमाडौं, १३ साउनः नेपाल नागरिक उड्डयन प्राधिकरण दुई संस्थामा विभाजन गर्ने उद्देश्यले तयार पारिएको “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” संघीय संसद्को चालु अधिवेशनमै पारित हुने भएको छ । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले समितिमा भएको छलफलपछि उक्त जानकारी दिएका छन ।
सभापति यादवले सो विधेयक सरकारको नीति तथा कार्यक्रममा नै समावेश भइसकेकाले यस अधिवेशनमै पारित हुने विश्वास व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको समेत उपस्थितिमा समितिमा विधेयकका संशोधनकर्ताहरुसँग छलफल गरिएको थियो । छलफलमा सांसद माधव सापकोटा, शिशिर खनाल, निशा डाँगी, मनिष झा र राजेन्द्र बजगाईंले आ–आफ्ना धारणा राख्दै विधेयकमा संशोधन आवश्यकताहरू प्रस्तुत गरेका छन ।
सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक दुई निकायमा विभाजन गर्न खोजेको हो, जसबाट नेपालमा हवाई सुरक्षालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको बताइएको छ ।