काठमाडौँ, १६ साउन — जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ भने विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा धेरै स्थान तथा तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्छ। रातिको समयमा कोशी, मधेस, वाग्मती, गण्डकी लगायतका प्रदेशका पहाडी क्षेत्रमा ठूलो परिमाणमा वर्षा हुने अनुमान गरिएको छ ।
विशेषगरी वाग्मती प्रदेशका पहाडी भागहरूमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले भूक्षय, बाढी र गेग्रान बहावको जोखिम रहेको जनाएको छ। त्यसैगरी सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा, नदी(नालामा पानीको सतह उच्च हुने, र जनजीवन प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।
महाशाखाले दैनिक जनजीवनसँग सम्बन्धित कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात जस्ता क्षेत्र प्रभावित हुनसक्ने बताउँदै सावधानी र पूर्वतयारी अपनाउन सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।