म्याग्दी, १६ साउनः म्याग्दी जिल्लाको मालिका गाउँपालिका –२ मा निर्माण सम्पन्न तीन वटा खानेपानी आयोजनाबाट ३३८ घरधुरीमा खानेपानी सेवा विस्तार भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी नेवा र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ताहरुको श्रमदानमार्फत खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरिएको हो ।
कूल लागत रु १ करोड ७१ लाख ७१ हजार ८५१ मा सम्पन्न भएका ती योजनाबाट ३३८ धारामार्फत घरघरमै पानी आपूर्ति गरिएको वडा नं. २ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिएका छन ।
उक्त योजनामा नेवाको तर्फबाट रु ८० लाख ७० हजार २१०, गाउँपालिकाबाट रु ४२ लाख ९१ हजार ९० र उपभोक्ताबाट रु ४७ लाख ९ हजार ७५१ बराबरको श्रमदान गरिएको थियो ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१।८२ को योजना अनुसार वडा नम्बर १, २ र ३ मा कुल सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।
वडा नम्बर १ को निस्कोटमा १२५ घरधुरी, वडा नम्बर ३ का डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ क्षेत्रका २२५ घरधुरी, पात्लेका १२२ र लुुम्पीपारका ५३ घरधुरी लाभान्वित भएका छन् ।
यस उपलब्धिबाट स्थानीयवासीहरू लामो समयको खानेपानी समस्याबाट मुक्त भएका छन् । गाउँपालिकाले आगामी दिनमा बाँकी वडामा पनि यस्ता योजनालाई प्राथमिकता दिने जनाएको छ ।