बागमती, १७ साउन – मकवानपुरस्थित मत्स्य विकास केन्द्र कुलेखानीले आर्थिक वर्ष २०८१।८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरी रु ६ लाख १७ हजार २१६ राजस्व संकलन गरेको छ ।
कार्यालय प्रमुख मनिता पौडेलका अनुसार यस अवधिमा सिल्भर र बिगहेड कार्प माछाको उत्पादन गरी बिक्री गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा केन्द्रले २ हजार ५१८ किलो माछा उत्पादन गरी रु ६ लाख १७ हजार ५०० आम्दानी गरेको थियो ।
प्रमुख पौडेलका अनुसार चालु आवमा केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअनुसार इन्द्रसरोवर जलाशयमा जलिय जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ७ लाख ३० हजार भुरा छोडिएको थियो ।
स्थानीय बजारमै खपत हुने माछाहरूमा सिल्भर, बिगहेड, कमन ग्रास, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछाहरू समावेश छन् ।
माछापालनप्रति स्थानीयको आकर्षण बढाउन केन्द्रले विद्यार्थी र कृषक लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । चालु वर्षमा इन्द्रसरोवर गाउँपालिका–४ को कालिका मावि र वडा नं. १ को सरस्वती बालबोधिनी माविमा मत्स्य शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
कालिका माविमा २४ जना विद्यार्थी र ९ जना कर्मचारीलाई माछापालन पद्धति, नेपालमा माछापालनको अवस्था, सिफारिस जात, पोषणीय महत्व र जलाशय संरक्षणबारे तालिम दिइएको थियो । सरस्वती माविमा कक्षा ८ देखि १० सम्मका १२ विद्यार्थीलाई लक्षित गरी हाजिरीजवाफ प्रतियोगिता गरियो ।
मत्स्य क्षेत्रको ज्ञान विस्तार गर्ने उद्देश्यले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर समेत सञ्चालन गरिएको छ । शिविरमा ८० बढी कृषक सहभागी भएका थिए ।
शिविरमा किसानलाई पोखरी व्यवस्थापन, पानीको गुणस्तर, माछाको रोग नियन्त्रण, सूक्ष्म जीव र वनस्पतिको भूमिका, र आवश्यक रसायन प्रयोगबारे जानकारी दिइएको थियो । चुना, टक्सिमार र मिनरल मिक्स्चर वितरणसहित प्रयोग विधि पनि सिकाइएको प्रमुख पौडेलले जानकारी दिएका छन ।