काठमाडौँ, १६ साउनः सरकारले आज साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा पहिलोपटक मनाउँदैछ । कोदोजन्य बालीहरूको आयात नियन्त्रण, घरेलु उत्पादनमा वृद्धि र साना किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित यो दिवस मनाइएको हो ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कोदो दिवस मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। उनले कोदोले खाद्य सुरक्षा, पोषण, जलवायु अनुकूलन र जैविक विविधता संरक्षणमा समेत योगदान दिने बताएका छन ।
कृषि विभागका अनुसार आर्थिक वर्ष २०८१।८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात गरिएको थियो, जसको लागत रु ७६ करोड ६३ लाख ८६ हजार बराबर पर्छ । विभागले आगामी वर्षहरूमा आत्मनिर्भरता बढाउने लक्ष्य लिएको छ ।
दिवसको अवसरमा चाँगुनारायण नगरपालिका–ताथलीमा कोदो रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायत विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान गरिनेछ । प्रदेश र स्थानीय तहहरूमा पनि विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
महानिर्देशक सञ्जेलले कोदो उत्पादनमा रासायनिक मल र विषादीको न्यून प्रयोगले हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । विभागले दिवस मनाउन सबै तयारी पूरा भइसकेको जनाएको छ ।