काठमाडौँ, १९ साउनः राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ प्रतिशत र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ४२ हजार ७६५ जनाले ग्रेड प्राप्त गरेका छन् । यस्तै, ३८ दशमलव ८३ प्रतिशतले ‘ननग्रेड’ प्राप्त गरेका छन् ।
आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएका थिए। तिनीहरूमध्ये ४१ हजार ८४० जनाले ग्रेड प्राप्त गरेका छन् ।
समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन ।
नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी कुल १७ जनाको परीक्षा विभिन्न कारणले रद्द गरिएको छ ।
ननग्रेड प्राप्त विद्यार्थीको लागि ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।