ढोरपाटन बागलुङ, २० साउनः बागलुङको काठेखोला गाउँपालिका –६ ताराखसेमा गएको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको यो महत्त्वपूर्ण सडक अवरुद्ध हुँदा गए रातिदेखि नै छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदो सहितको ठूलो पहिरो खसेपछि रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौं जाँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
“राति पहिरो खसेको जानकारी पाउने बित्तिकै प्रहरी टोली खटायौँ, तर सडक खुलाउन सकिएन,” उनले भने, “हाल लोकमार्ग कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ । सडक खुल्न अझै केही समय लाग्न सक्छ ।”
अवरुद्ध सडक खुलाउने कार्य तीव्र रूपमा अघि बढाइए पनि निरन्तरको वर्षाले कठिनाइ भएको जनाइएको छ । यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । सुरक्षा निकायले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै वैकल्पिक व्यवस्थाका लागि पहल गरिरहेको छ ।