दार्चुला व्यासनिवासी जयसिंह धामी महाकालीमा बेपत्ता भएको महिना दिन बित्यो । हालसम्म पनि धामीको अवस्था अज्ञात नै छ । घरपरिवारले उनी जीवितरहेको पूरै आश मारे पनि न्याय जीवितै रहेको भन्दै आशै आशमा बसेका छन् ।
भारतीय सुरक्षा बल एसएसबीको आपराधिक हर्कतले जयसिंह धामी बेपत्ता छन् । तुइनको लठ्ठा फुस्काइ दिएपछि महाकालीमा खसेका धामीको खोजी कार्य नभएको होइन । तर, आजसम्म पनि फेला परेका छैनन् । धामी फेला नपरेपछि घरपरिवारले केही दिनअघि कुशको प्रतिमा बनाएर सद्गद गरिसकेको छ ।
उता भारतले यो घटनाबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । बरु उसले विभिन्न सञ्चार माध्यमबाट थाहा पाएको भन्दै घटनाको हल्का टिप्पणी गर्दै आएको छ । यसले विगत लामो समयदेखि नेपाल र भारतको कुटनीतिक र मैत्रीपूर्ण सम्बन्धमा तीक्तता छाएको छ ।
जयसिंह धामीलाई महाकालीमा बेपत्ता बनाएलगत्तै दार्चुला जिल्ला प्रशासनले भारतीय समकक्षीसँग शोधखोज गरेको थियो । त्यसयता उसले कुनै पनि जानकारी दिएको छैन । भारतले आफ्नै सुरक्षा बलसँग यस घटनाबारे सत्यतथ्य खोज गरि दोषीउपर कारबाही गर्नुपर्ने हो । तर, उसले अहिलेसम्म पनि एसएसबीसँग यस घटनाबारे जानकारी नलिएको बुझिन्छ । किनकि यसअघि नेपाल र भारत दुवै पक्ष मिलेर धामीको खोजीका लागि ड्रोन उडाउन सहमति माग्दा उसले असहमति जनाएको थियो । यसबाट के प्रष्ट हुन्छ भने भारत यस घटनाप्रति गम्भीर छैन । उसको पहिले देखिको मिचाहा र हेपाहा प्रवृत्ति नेपालमाथि हाबी भई नै रहेको देखिन्छ । यसले दुवै देशको सम्बन्धमा खलल त ल्याउँछ नै कुटनीतिक मर्यादा पनि खस्काउँछ ।
यता नेपाल सरकारले पनि यस घटनाको तथ्य छिट्टै बाहिर ल्याउने वाचा गरेको महिना दिन बित्यो । तर, घटनाको वास्तविकता बाहिर ल्याउन भने सकेको छैन । त्यतिमात्रै होइन, उसले प्रतिवेदनमा घटनाको तथ्य सार्वजनिक नगरेपछि धामीका परिवारले उनको न्याय पनि महाकालीसँगै बग्ने त होइन भन्ने आशंका गरेका छन् । यद्यपि उनले न्याय पाउनैपर्छ र भारतीय सुरक्षा बलले माफी माग्नुपर्छ र दोषीउपर कडाकारबाही हुनुपर्छ ।
वि.सं. २०१८ सालमा नेपाल र चीन सीमानामा चिनियाँ सेनाले एक नेपाली सेनाको हत्या गरेको थियो । त्यसपछि त्यस घटनाको तत्कालीन सरकारले कडा विरोध गरे पश्चात् उसले नेपाली सेनासमक्ष माफी माग्दै क्षतिपूर्तिसमेत दिएको घटना जगजाहेरै छ । भारतलाई पनि जयसिंह धामीको परिवारसँग माफी माग्दै उचित क्षतिपूर्तिसमेत दिनुपर्छ । र, दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्छ ।