सिरहा, २६ असार । यहाँको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ । वडाले रु १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।
वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । “पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेका हौँ”, उनले भने ।
चमार टोलकी विन्दादेवी राम ४९ ले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताए। “अब धुँवामा बस्नुपर्दैन”, उनले खुसी साटे। वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि रु १० लाख बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । “त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ”, उनले भने ।
यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा रु नौ लाख खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो ।