सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

अर्थ

मनपरी व्याजदर रोक्न राष्ट्र बैंकको नयाँ नीति लागु


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1123
    असोज २५, २०७८ सोमबार
    मनपरी व्याजदर रोक्न राष्ट्र बैंकको नयाँ नीति लागु

    काठमाडाैं । राष्ट्र बैंकले ब्याजदरको विषयमा केही कडा नीति ल्याएको छ । एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरूले गरिरहेको मनपरी रोक्ने गरी नीति ल्याएकाे हाे ।

    केन्द्रीय बैंकले संशाेधित निर्देशन सोमबार जारी गर्दै विभिन्न प्रकारका बचत खाताहरूमा दिइने व्याजदरको अन्तर २ प्रतिशत विन्दु भन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरेको छ । 

    ‘बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र एवं रुपले ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नु पर्नेछ।' संसोधित निर्देशनमा भनिएको छ । 

    राष्ट्र बैंकले कर्जाको ब्याजदरमा हुने मनपरीलाई पनि नियन्त्रण गर्ने उद्देश्यले केही नीतिगत व्यवस्था गरेको छ । ‘कुनै पनि कर्जा आधारदर भन्दा कम व्याजदरमा प्रवाह गर्न पाइने छैन ।’ संसोधित निर्देशनमा भनिएको छ, ‘कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिनेछ र यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिनेछ । तर, त्रैमासिक औसत आधार दर वृद्धि हुँदा ब्याजदर वृद्धि नगर्न, ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न तथा जुनसुकै समयमा पनि ब्याजदर घटाउन यस व्यवस्थाले वाधा पर्ने छैन ।’

    यसरी त्रैमासिक रुपमा औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ ।

    परिवर्तनीय ब्याजदर आधरदरसँग आबद्ध गर्दा इजाजतपत्र प्राप्त संस्थाको कोर बैंकिङ सिस्टममार्फत त्रैमासिक औसत आधार दरमा भएको परिवर्तन अनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्ने व्यवस्थासमेत भएको छ ।

    यसैगरी, १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरू इजाजतपत्रप्राप्त संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने व्यवस्था भएको छ । तर, यस्तो खाताको विवरण बैंकको वेबसाइटमा उपलब्ध हुनुपर्ने उल्लेख छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij