काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैँ तिहार, छठलगायतका पर्वमा घर जानेको संख्या दैनिक बढिरहेको छ ।
असोज महिनाको १ गतेदेखि अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् ।
यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
उनका अनुसार दसैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
उनले भने, दुई(तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ । दुई वर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दसैंको समयमा उपत्यका छाड्ने गरेका थिए । गत वर्ष कोभिड संक्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या ह्वात्तै घटेको थियो । झण्डै चार पाँच लाखले मात्रै गतवर्ष उपत्यका छाडेका थिए । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्थाभन्दा धेरै कम छन् ।
उनले भने, अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ । सरकारले घटस्थापना (असोज २१)देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएका थिए । यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् ।
घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जानेमात्रै धेरै रहेको महासचिव सिटौलाले बताए ।
विजया दशमीको दिनदेखि भने काठमाडौं उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ । उनले भने, अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन् ।
दसैंको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरू गर्न नसकिएको सडक विभागले जनाएको थियो। एक सातायता भने तीव्र रूपमा मर्मत भइरहेको छ ।
दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने उनले बताए ।