हेटौंडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वाग्तमी प्रदेशको बैठकमा विश्वासको मत लिने कार्यसूची भए पनि सत्तारुढ दल नै बैठकमा उपस्थित नहुने भएको छ । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आजको बैठकमा आफ्नो पार्टीका सांसदहरु सहभागी नहुने बताएका हुन् ।
हिजै एमालेले प्रदेशसभा सचिवालयसमक्ष बैठक सार्न प्रस्ताव गरेको थियो । सभामुखले परामर्श नै नगरी बैठक तय गर्नु भएछ । सद्स्यहरु उपस्थित नभएको अवस्थामा सदन चले सदन कै लागि दुर्भाग्य हुने सचेतक निरौलाले बताए । बैठकमा मन्त्रीहरु उपस्थित भएपनि एमालेका सांसदहरु उपस्थित नहुने उनले जानकारी दिए ।
एमालेले बैठक स्थगित गर्न आग्रह गरेपनि अन्य दलले भने आजै बैठक गर्नुपर्ने अडान राखेको छ । दुवै पक्षको छलफलपछिमात्र बैठकबारे निर्क्यौल हुने सभामुख सानुकुमार श्रेष्ठले बताए । बैठक दिनको १ बजेपछि हुन्छ । बैठकमा विश्वासको मतसम्बन्धी छलफलमात्रै हुन्छ,ु सभामुख श्रेष्ठले भने ।
बुधवार लिखित पत्र पठाउँदै एमालेले प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको थियो । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको छ । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन् ।
त्यसपछि मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । वाग्मतीमा एमालेको ४३ सांसद रहेको छ । सत्ता गठबन्धन दल माओवादीको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको १ सांसद रहेको छ । यसैगरी विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ जना सांसद वाग्मती प्रदेशमा रहेका छन् ।
एमालेले बैठक ११ गतेका लागि बोलाउन प्रस्ताव गरेको छ । कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् ।