आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार परिवर्तन

आजदेखि बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीको हातमा


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1467
    कात्तिक ११, २०७८ बिहीबार
    आजदेखि बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीको हातमा

    काठमाडौं । आज (बिहीबार)देखि बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने भएको छ । 

    यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले हिजो बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।

    शाक्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठन गर्न आज (कात्तिक ११) दिउँसो ३ बजेसम्मको समयसीमा राखेर मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका थिए

    त्यसबमोजिम नेता पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी गरी चार दलीय गठबन्धनबाट बुधबारै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन् । 

    १०९ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसदको मत चाहिन्छ ।

    तर नेता पाण्डेले आफूलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउन माग गर्दै माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना गरी प्रदेश प्रमुख शर्मासमक्ष ५९ जना प्रदेश सांसदको हस्ताक्षर पेस गरेका हुन् । 

    यसअनुसार पाण्डेको नेतृत्वमा आजै नयाँ सरकार गठन हुने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक÷एक जनाले आज दिउँसो मन्त्री पदको शपथ खानेछन् । 

    नेताहरूका अनुसार आज मुख्यममन्त्री पाण्डेसँगै नेपाली काँग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्री पदको शपथ खाने तयारी छ । 

    बाँकी मन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषदलाई पूर्णता भने तिहारपछि दिने गठबन्धनको तयारी छ ।

    गत भदौ २ गते मुख्यमन्त्री पदमा नियुक्त शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । तर एमालेका १३ जना प्रदेश सांसदले माधव नेपालद्वारा नवगठित एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।

    हिजो बुधबार उनले विश्वासको मत लिने कार्यक्रम रहे पनि बहुमत नपुग्ने निश्चित भएपछि शाक्यले त्यसअघि नै राजीनामा दिएकी हुन् ।  

    किनकि बागमती प्रदेशसभामा अहिले एमालेका ४३ जना मात्र सांसद छन् । बहुमतका लागि कम्तीमा ५५ मत आवश्यक पर्छ । उता विपक्षी गठबन्धनतर्फ माओवादी केन्द्रका २३, काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

    यस्तै ३ जना सांसद रहेको विवेकशील साझा पार्टीले यसअघि नै मुख्यमन्त्री शाक्यलाई मत नदिने बताइसकेको थियो भने २÷२ जना प्रदेश सांसद रहेका नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाले कुनै प्रतिक्रिया दिएनन् । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij