काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले आनाकानी गरेको छ ।
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनेबारे अहिलेसम्म माओवादी केन्द्रले कुनै पनि आधिकारिक निर्णय गरेको छैन । पार्टी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक तत्काल बस्न नसक्ने भन्दै दलको बैठक समेत बस्न नसकेको बताए ।
त्यस्तै सत्तासाझेदार दल नेकपा (एमाले)ले आज तोकिएको बैठकमा विश्वासको मत दिन नसक्ने अडान लिएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले पनि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन ह्वीप नै जारी गरेको छ ।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले आज (शुक्रबार) अपरान्ह ४ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।