आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रदेश सरकार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

यस्तो छ, प्रदेश सभाको जोडघटाउ


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1595
    कात्तिक २२, २०७८ सोमबार
    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

    मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।

    पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म सम्पूर्ण प्रक्रिया टुङ्ग्याइने र मत विभाजनसमेत हुने गरी तयारी भइरहेको छ ।

    विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रदेशसभामा आवद्ध दलका सदस्यहरुले क्रमशः आफ्ना धारणा राख्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिएपछि मत विभाजन हुनेछ ।

    यस्तो छ प्रदेशसभाको जोडघटाउ

    मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।

    बागमती प्रदेशमा आवद्ध अन्य साना दलका ८ जना सांसद् छन् । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २, २ र जसपाको एक जना सांसद् छन् । जसपा गठबन्धनमा रहेकाले यस अघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउन पक्षमा हस्ताक्षर गरिसकेको छ । यता, विवेकशील साझा पार्टीसहित अन्य दलले भने यस बारेमा प्रतिक्रिया दिएका छैनन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij