हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत मागेका छन् । सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन आग्रह गरे ।
बागमती प्रदेशको हैसियतलाई माथि उठाउनको लागि सबै दलको सहकार्य हुन आवश्यक रहेको भन्दै उनले विश्वासको मत मागेका छन् । पाण्डेले बागमती प्रदेशको अनावश्यक खर्च घटाएर आम्दानी बढाउने र प्रदेशमा सुशासन कायम गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताए ।
प्रदेशसभामा एउटा मात्रै दलको बहुमत नपुगी दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार पाण्डेले विश्वासको मत मागेका हुन् । १०९ प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनको लागि बहुमत पुर्याउन ५५ मत चाहिन्छ । पाण्डेलाइ ४ दलको ५९ सांसदको समर्थन छ ।