काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अधिकांश प्रदेशमा पदाधिकारी चयन हुन बाँकी छ । शनिबारदेखि जारी सम्मेलनमा माओवादीका १० प्रदेश कमिटीमध्ये गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ चयन भइसकेकी छन् ।
अरू पदाधिकारीहरू भने टुंगो लाग्न बाँकी छ । त्यस्तै, उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चयन भएका छन् ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार प्रदेश नम्बर–१ को बन्दसत्र जारी छ । त्यहाँ कमिटी गठन भएको छैन । प्रदेश नम्बर–२ को बन्दसत्र आउँदो पुस ३ गतेदेखि मात्रै सुरु हुने उनले जानकारी दिए ।
बागमती प्रदेशमा कमिटी गठन भए पनि पदाधिकारीको टुंगो लगाउन बाँकी छ । लुम्बिनी प्रदेशमा पनि पदाधिकारी चयनको प्रक्रिया चलिरहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बन्दसत्र जारी रहेको सचिव ढकालले जानकारी दिए ।