सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

यी हुन् काँग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारी


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2447
    पुष ३, २०७८ शनिबार
    यी हुन् काँग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारी

    काठमाडौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ । मंसिर २४ बाट भृकुटीमण्डपमा भएको महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन् ।

    मंसिर २७ गते निर्वाचन सकिनसाथ सभापतिको मत गणना शुरु भएको थियो। सभापतिमा देउवासहित पाँच जनाले उम्मेद्वारी दिएका थिए । पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका दुई उम्मेद्वार देउवा र डा शेखर कोइरालाबीच २८ गते पुन निर्वाचन भएको थियो । निर्वाचनबाट देउवा पुन सभापतिमा निर्वाचित भएका हुन् । महाधिवेशनबाट पदाधिकारीमा देउवाले बहुमतसमेत प्राप्त गरेका छन् । १३ पदाधिकारीमा देउवासहित एक उपसभापति र ६ सहमहामन्त्री देउवा प्यानलबाट निर्वाचित भएका छन् ।

    उपसभापतिमा खड्का र गुरुङ

    उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का निर्वाचित भएका हुन् । अर्का उपसभापतिमा डा शेखर प्यानलका धनराज गुरुङ निर्वाचित भए ।

    महामन्त्रीमा गगन र विश्वप्रकाश

    दुई महामन्त्रीमा भने देउवा प्यानलबाट निल भयो । शेखर प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

    यी हुन् ८ सहमहामन्त्री

    ८ सहमहामन्त्रीमा ६ जना देउवा प्यानलबाट र २ जना शेखर प्यानलबाट निर्वाचित भएका छन् । महिला, दलित, आदिवासी/जनजाति, खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्र गरी आठ क्लस्टरबाट एक/एक जना सहमहामन्त्री निर्वाचित भएका हुन् ।

    महिलातर्फको सहमहामन्त्रीमा कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ प्रतिस्पर्धामा थिए । जसमा उपाध्यायले कोइराला प्यानलकी उम्मेद्वार पन्तलाई पराजित गरिन्। उपाध्याय देउवा प्यानलकी हुन् ।

    त्यस्तै, दलिततर्फको सहमहामन्त्रीमा कोइराला प्यानलका जीवन परियार विजयी भए । प्रतिस्पर्धात्मक रुपमा परियारले देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । सो क्लस्टरमा परियार र विश्वकर्मासहित गंगा सुनार पनि प्रतिस्पर्धामा थिइन् ।

    आदिवासी जनजाति क्लस्टरतर्फ देउवा प्यानलका भीष्मराज आङ्देम्बे निर्वाचित भए । आङ्देम्बेले शेखर प्यानलका विकास लामालाई पराजित गरेका हुन् ।

    खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर विजयी भए । उनी देउवा प्यानलका हुन् । उनले प्रतिस्पर्धी देवराज चालिसेलाई पराजित गरेका हुन् ।

    त्यस्तै, मधेसी क्लस्टरतर्फ पनि देउवा प्यानलकै महेन्द्र यादव विजयी भए । उनले कोइराला प्यानलका रामकृष्ण यादवलाई पराजित गरेका हुन् ।

    यसैगरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी भए । उनी पनि देउवा समूहका हुन् । उनले कोइराला प्यानलका शेख वकिललाई हराए ।

    थारूतर्फको क्लस्टरबाट कृष्णप्रसाद सिटौला टिमका उमाकान्त चौधरी निर्वाचित भए । उनी सिटौला टिमका भएपनि देउवा प्यानलबाट चुनाव लडेका थिए । उनले सुरेन्द्र प्रसाद चौधरी र तेजुलाल चौधरीलाई हराएका हुन् ।

    यता, पिछडिएको क्षेत्रतर्फ कोइराला प्यानलबाट उम्मेद्वार बनेका बद्री पाण्डे निर्वाचित भए । पाण्डे कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् । शाही देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेद्वार बनेका थिए ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij