काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफूलाई नसोधी सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।
“मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,” उनले भनेका छन्, “यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।”
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उमेदवार भएका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन थिए ।
अध्यक्षको उमेदवार भए पनि केन्द्रीय सदस्य पनि उमेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका थिए ।