सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादी केन्द्रको आठौँ महाधिवेशन यथास्थितिमै निरन्तरता


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/2779
    पुष १९, २०७८ सोमबार
    माओवादी केन्द्रको आठौँ महाधिवेशन यथास्थितिमै निरन्तरता

    काठमाडौ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ । पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो ।

    सैद्धान्तिक र नेतृत्व चयनमा नयाँपनबिनै महाधिवेशन औपचारिकतामा सीमित हुन पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले पुस १२ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी र मुलुकलाई दिशानिर्देश गर्नेभन्दा पनि औपचारिकता निर्वाह गरिएको छ ।

    उक्त प्रतिवेदनमाथि सुझाव र फरक मत प्रकट भए पनि दाहालकै प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत पारित भयो । माओवादीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउँदै आए पनि जनवादी केन्द्रीयताको अभ्यास गर्दै नयाँ कमिटी घोषणा भएको होे ।

    केन्द्रीय कमिटी गठनमा लोकतान्त्रिक अभ्यास हुनसक्ने बताइए पनि अन्तिममा दाहालको प्रस्तावलाई नै बन्दसत्रले अनुमोदन गरेको छ । अध्यक्ष दाहालले खुलातर्फ १ सय ११ र समानुपातिकतर्फ १ सय २५ केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पेस गरेका थिए ।

    बाँकी करिब १५ प्रतिशत केन्द्रीय सदस्यको नाम भने अझै टुंगिएको छैन । त्यसलाई पनि छिटै टुंग्याउने दाहालले बताएका छन् । केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै दाहालले बन्दसत्रमा सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने आफ्नो प्रतिबद्धतालाई जसोतसो पार लगाएको बताएका छन् ।

    उनको यो भनाइले पनि महाधिवेशन र केन्द्रीय सदस्य चुन्ने प्रक्रियामा जनवादी केन्द्रीयताकै अभ्यास गर्न चाहेको देखाउँछ । माओवादी केन्द्रले महाधिवेशनमार्फत चुनिएका केन्द्रीय सदस्यको पहिलो बैठकमार्फत सोमबार पदाधिकारीको टुंगो लगाउने भएको छ ।

    ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने केन्द्रीय समिति बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ । दाहालले पदाधिकारी चयन पनि सहमतिमै हुने बताउने गरेका छन् ।

    उनले आइतबारको बन्द सत्रमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दै भने, ‘विधानअनुसार केन्द्रीय समितिले पदाधिकारीको विषय टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऊँ भनेका थिए ।

    आज (सोमबार) नयाँ केन्द्रीय समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारीको टुंगो लगाइनेछ । पदाधिकारीमा करिबकरिब सहमति भइसकेको छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij