काठमाडौं । कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएकाभन्दा १० गुणा बढी हुने पाइएको छ ।
त्यस्तै खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालले अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुनसक्ने र एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताए ।
ओमिक्रोन भेरियन्ट समुदायमा फैलिए डेल्टाले भन्दा उच्च संक्रमण गराउनसक्ने पनि उनले जानकारी दिए । डा.
कोइरालाकाअनुसार ओमिक्रोन संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर पुर्याउँछ । डेल्टा भेरियन्टजस्तो यसले सिधै फोक्सोमा आक्रमण भने नगर्ने उनले बताए ।
यसअघिको डेल्टा भेरियन्टले ४ देखि ५ जनालाई संक्रमण सार्ने देखिएको थियो भने ओमिक्रोन संक्रमितले १० जनासम्मलाई सार्नसक्ने देखिएको उनले बताए ।