सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रेल गुडाउने सपना गफमा सिमित, पाँच वर्षसम्म पनि बनेन डीपीआर


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/3320
    माघ २१, २०७८ शुक्रबार
    रेल गुडाउने सपना गफमा सिमित, पाँच वर्षसम्म पनि बनेन डीपीआर

    काठमाडौं । न अहिलेसम्म निर्माणको ढाँचा तय भएको छ न लगानीको सुनिश्चितता नै । पाँच वर्षसम्म नेतृत्वको भाषणमा मात्र होइन त्यसको निकैअघि नै काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे अध्ययन भएको हो ।

    सन् २०१२ मा नै कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो कम्पनीले काठमाडौँको पाँचवटा रुटमा ८७.१८ किलोमिटर मेट्रो रेल निर्माण गरी सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो तर त्यो अध्ययन प्रतिवेदन अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । 

    रेल विभागका महानिर्देशक दीपक भट्टराईले काठमाडौँ उपत्यकाको यातायात तथा ट्राफिक व्यवस्थापनका लागि मेट्रो रेल सञ्चालनको विकल्प नरहेको बताउँदै मेट्रो रेल निर्माण सरकारको प्राथमिकतामा रहेको दाबी गरे ।

    काठमाडौँको चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किमि, कीर्तिपुर–कालीमाटी–नयाँबानेश्वर–एयरपोर्टसम्मको ११.१५ किमि, कोटेश्वर–चावहिल–स्वयम्भू–कोटेश्वरसम्म २८.५३ किमिमा मेट्रो रेल निर्माणका लागि अध्ययन गरिएको थियो । 

    त्यसैगरी स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११.७० किमि र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबुसम्म १३.८० किमिमा अध्ययन गरिएको थियो । एक दशकअघि नै गरिएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा मेट्रो रेल निर्माण गर्न करिब साढे पाँच खर्ब रुपियाँ लगानी लाग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो ।

    बनेन डीपीआर

    सम्भाव्यता अध्ययन भएको करिब आठ वर्षपछि महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न वि.सं. २०७६ माघमा रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सलट्यान्ट (जेभी)बीच एक वर्षभित्र प्रतिवेदन बुझाउने गरी सम्झौता भई काम अगाडि बढाइएको थियो जुन अहिलेसम्म सम्पन्न हुन सकेको छैन । 

    अन्य चार रुटको डीपीआर निर्माण सुरु हुन सकेको छैन । रेल विभागका प्रवक्ता अमन चित्रकारले महाराजगञ्जदेखि सातदोबाटोसम्म निर्माण गरिने प्रस्तावित मेट्रो रेलमार्ग ललितपुर खण्डमा एलिभेटेड (जमिनमाथि) निर्माण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ तर रातो मत्स्येन्द्रनाथको रथ यात्रा त्यही रुट भएर पर्ने भएकाले ललितपुर महानगरपालिका र अन्य सङ्घ, संस्थाले सो क्षेत्रमा जमिनमाथिबाट मेट्रो रेल निर्माण नगर्न दिएको सुझाव र दबाबका कारण अध्ययन कार्य अगाडि बढ्न नसकेको बताए । उनले ललितपुर महानगरपालिकाले रेल विभागलाई पत्राचार नै गरेर काम अगाडि नबढाउन आग्रह गरेको जानकारी दिए ।

    ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले महाराजगञ्जदेखि सातदोबाटोसम्मको मेट्रो रेल निर्माणको डिजाइन ललितपुरको सांस्कृतिक महìव र भावनाविपरीत रहेको बताउँदै ललितपुर क्षेत्रमा एलिभेटेड (जमिनमाथि) मेट्रो रेल आफूहरूलाई स्वीकार्य हुन नसक्ने भएकाले रेल विभागलाई कार्य अगाडि नबढाउन पत्राचार गरिएको स्पष्ट पारे ।

    उनले भने, “रातो मत्स्येन्द्रनाथको रथ जाने रुटमा भूमिगत मेट्रो रेल निर्माण गर्नुबाहेक अरू कुनै विकल्प हुनै सक्दैन । धार्मिक दृष्टिकोणले असम्भव हुने भएकाले महानगरले रेल विभागलाई सो प्रस्ताव गरेको हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij