बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ ।
प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो ।
कार्यालयको तथ्यांकानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन् ।
ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
राठौरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ ।
धादिङ तेस्रो स्थानमा रहेको उनले जानकारी दिए ।
मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ ।
यस्तै सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठौरले जानकारी दिए ।
कार्यालयको तथ्यांकानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन् ।
प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ ।
बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन् ।
सडकका कारण ४८९ वटा दुर्घटना भएको राठौरले बताए ।
उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ ।
तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताए ।
चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् भने यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा एक हजार ४१५ सवारी परेका छन् ।
जसमा सबैभन्दा धेरै मोटरसाइकल छन् ।
प्रदेशभित्र भएका दुर्घटनामा ७२५ मोटरसाइकल परेको उनले बताए ।
यस्तै कार, जीप २४१, ट्रक ट्यांकर १६१, बस १०५, टिपर ५३, ट्र्याक्टर ४५, टेम्पो ४०, शारीरिक शक्तिबाट चल्ने ३५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
यी दुर्घटनामा परी ३७४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८ जना घाइते भएका छन् ।