सिरहा, १० साउनः सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसण्डीबाट प्रहरीले गोली प्रहार गरी लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन ।
प्रहरीका अनुसार आज दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोकेका थिए । तर, मोटरसाइकल चालकले रोक्न नमानि भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो ।
गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ ।
हाल पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।