काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ३३ वर्षमा विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा २९८ जनाविरुद्ध इन्टरपोलमार्फत ‘नोटिस’ जारी गरेको छ ।
सन् १९९१ देखि हालसम्म उक्त नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
फरार प्रतिवादीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका निम्ति नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी गर्ने गरिन्छ ।
सन् १९९१ देखि हालसम्म १६८ जनाविरुद्ध ‘रेड’ नोटिस, २४ विरुद्ध ‘एल्लो’ नोटिस, एकविरुद्ध ‘ब्लु’ नोटिस, एकविरुद्ध ‘ब्ल्याक’ नोटिस, एकविरुद्ध ‘पर्पल’ नोटिस र १०३ जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।
तीमध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, एक ब्ल्याक नोटिस, एक पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् । कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएका मध्ये ५५ नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ नेपाली र डिफ्युजन नोटिस जारी भएका मध्ये ३० नेपाली र पाँचजना विदेशी नागरिक छन् ।
फरार प्रतिवादीका विरुद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ । यसक्रममा २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरुद्ध रेड नोटिस जारी गरिएको छ । तीमध्ये वैदेशिक रोजगारीमा ठगी घटनामा चार र सहकारी ठगीमा दुईजना छन् ।