चितवन । एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले जानकारी दिए ।
उनका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका आठ सय हाराहारीका बालबालिकालाई छुट खोप दिइने छ । यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिने छ ।
स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुनेछ ।
अन्यमा राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ ।
जिल्लामा विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको छ ।
जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् ।