सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शिक्षा

स्नातकतह अब तीन वर्षे बनाइने, चार वर्षे हटाइने


  • 640
    SHARES
  • https://indrenipost.com/posts/6860
    फागुन ११, २०८० शुक्रबार
    स्नातकतह अब तीन वर्षे बनाइने, चार वर्षे हटाइने

    कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडाकेशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी भएको भएको छ । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।

    विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।

    “बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ”, उनले भने ।

    अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, “त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।”

    साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए  । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।

    यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट )का रुपमा पुनःसंरचना गरिने जानकारी दिए । शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए । केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुपति बरालले यसको पुनःसंरचनाका लागि आफू तयार रहेको बताए ।

    “त्रिविलाई अब विस्तार होइन पुनःसंरचनाको खाँचो छ”, उनले भने । उपकुपति प्राडाबरालले त्रिविका शैक्षिक कार्यक्रमहरुलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए ।

    “तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ”, उनले भने ।

    साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए । यसैगरी, देशको विशिष्टताअनुरुप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्राडा बरालले बताए ।

    होटल व्यवस्थापनमा अध्ययनसँगै कमाईको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उहाँले बताए । प्राडा बराललाई निवर्तमान कार्यवाहक उपकुपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचरी तथा प्राध्यापकहरुले स्वागत गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij