ढोरपाटन बागलुङ, २२ साउनः बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घरधुरी बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । भिरालो भूपरिवेश, खोला किनार र सडक छेउमा निर्माण भएका बस्तीहरू जोखिममा परेका हुन् । सोही कारण गाउँपालिकाभित्रका करिब १३ हजार ५९७ नागरिक प्रत्यक्ष प्रभावित बनेका छन् ।
सात वडाहरू रहेको निसीखोलामध्ये सबैभन्दा बढी वडा नं १ उच्च जोखिममा छ, जहाँ नौ सय २० घर पहिरोको जोखिममा रहेका छन् । हुल्दी, लेबाङ किटेनी, स्वाँरा लगायतका बस्तीहरू विशेष प्रभावित रहेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिएका छन ।
गाउँपालिकाले सङ्कलन गरेको विवरणअनुसार वडा नं २ मा २०७, वडा नं ३ मा १४०, वडा नं ४ मा ४००, वडा नं ५ मा १७०, वडा नं ६ मा ३१ र वडा नं ७ मा ५७० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
विसं २०७४ यता पहिरोको संख्या तथा प्रभाव बढ्दै गएको स्थानीयवासीहरू बताउँछन् । निसीखोला–१ हुल्दीकी हुमकुमारी मल्लका अनुसार पहिरोले गाउँ चिराचिरा पारेको छ । “हिउँदमा त ठीकै हुन्छ, तर बर्खामा पानी परेपछि डरै डरमा दिन बित्छ,” उनको भनाइ छ । गाउँभन्दा माथिल्लो क्षेत्रमा रहेको दह नामक स्थानमा गाईभैंसीसहित गोठ रहेका कारण वर्षामा त्यहीँ बसेर ज्यान जोगाउनु परेको उनले बताए ।
यस्तै, वडा नं २ का पदमबहादुर विकले जीवनयापन गर्ने वैकल्पिक जग्गा नभएका कारण बाध्यतावश जोखिममै बस्नुपरेको गुनासो गरे । “धनीहरू त बसाइँसराइ गरेर तराई झरे, गरिबहरू भने यही जोखिममा अल्झिएका छौँ”, उनले भने ।
गाउँपालिकाका अध्यक्ष मगरका अनुसार, जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको छ । जनता आवास कार्यक्रमअन्तर्गत केही घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको र अन्यका लागि योजना निर्माण भइरहेको जानकारी गराएका छन ।
अध्यक्ष मगरले अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढी र पहिरोको सास्ती व्यहोर्नु परेको जनाउँदै, दीर्घकालीन समाधानका लागि गाउँपालिकाले रणनीति बनाइरहेको जानकारी दिए ।