काठमाडौँ, २२ साउनः नेपालमा मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी नसर्ने रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । नेपाल एनसिडी एलाइन्सका डा. मनिता प्याकुरेलका अनुसार हाल देशभर प्रमुख तीन नसर्ने रोगमध्ये मुटु रोग सबैभन्दा धेरै अर्थात् ३० प्रतिशत जनसंख्यामा देखिन्छ भने क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या १० प्रतिशत जनसंख्यामा देखिएको छ ।
सन् २०१० मा नेपालमा कुल मृत्युमध्ये ५१ प्रतिशत मात्र नसर्ने रोगका कारण हुन्थे भने सन् २०१९ सम्म आइपुग्दा यो दर ७१.१ प्रतिशत पुगेको ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदनले देखाएको छ । यसले देशमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको संकेत गर्दछ ।
विश्वभर वार्षिक ४३ लाख मानिसको ज्यान नसर्ने रोगका कारण गइरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यस्तै, सन् २०५० सम्ममा मृत्यु गराउने पाँच प्रमुख कारणमा नसर्ने रोग पर्ने अनुमान गरिएको छ ।
धुम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, मद्यपान र वायु प्रदूषण जस्ता कारणले यी रोग फैलिरहेको नेपाल एनसिडी एलाइन्सका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलले बताए ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले पत्रकारिताको माध्यमबाट सचेतना फैलाउनु जरुरी रहेको बताउँदै, सरकारले आमजनतालाई समयमै चेतना दिन नसर्ने रोग न्यूनीकरणमा सघाउनु पर्ने धारणा राखेका छन ।
निष्कर्षमा, नसर्ने रोगको नियन्त्रणका लागि जनस्तरबाट व्यवहार परिवर्तन र राज्यस्तरबाट नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु अपरिहार्य देखिन्छ ।