लुम्बिनी । लुम्बिनीमा हुने भनिएको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ ।
सोमबार मात्र केन्द्रमा सरकार परिवर्तन भएपछि अन्योलमा रहेको सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले स्थगित गरेको हो ।
विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विभिन्न दातृ निकायका लगानी साझेदारहरूलाई फागुन २८ र २९ गते लुम्बिनीमा ल्याएर शिखर सम्मेलन गर्ने तयारी प्रदेश सरकारले गरेको थियो ।
शिखर सम्मेलनको सबै तयारी सुरू भई १ सयभन्दा बढी विदेशी पाहुनाहरूलाई समेत आमन्त्रित गरिसकिएको अवस्थामा शिखर सम्मेलन स्थगित गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री सन्तोष कुमार पाण्डेले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिए ।