काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको, राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको, सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरे ।