सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रकृति

पहाडमा ढकमक्क गुराँस फुले, अध्येताका लागि अध्ययन केन्द्र बन्दै टोड्के


  • 892
    SHARES
  • https://indrenipost.com/posts/7219
    फागुन २८, २०८० सोमबार
    पहाडमा ढकमक्क गुराँस फुले, अध्येताका लागि अध्ययन केन्द्र बन्दै टोड्के

    म्याग्दी । प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जंगल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।

    टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए ।

    “पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ”, उनले भने, “टोड्केको दायाँ र बाँया रहेको जंगलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।”

    मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन चंगा बनाएको अनुभव सुनाए ।

    “गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो”, उनले भने “हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।”

    गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताए ।

    आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्किए ।टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ ।

    गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौंबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटेल व्यवसायी भीम शेरचनले बताए । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे« र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो ।

    हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।

    डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् ।

    आश्रम परिसरमा गौशाला पनि रहेको छ । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउए । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ ।

    टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर, बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ ।

    उनान्तीस किलोमिटर दूरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।

    पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ ।

    झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij