काठमाडौं । २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेका हुन् ।
चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ ।
योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गनुपर्ने उत्तिकै छन् । स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सरको औषधि उपलब्ध गराउने सहमति भएको छ ।
सहमतिअनुसार आगामी चार वर्षसम्म ३५ प्रकारका औषधि निःशुल्क दिइने भएको छ । नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गर्छ, जसमा सीमितले मात्र उपचार पाउने गरेका छन् ।
चिकित्सकका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर बढी हुने गरेको छ । सरकारले पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’को दायरा बढाउन नसके पनि यो वर्ष नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’ गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा छ । ढिलै भए पनि पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई घटाउन एचपिभी खोप सरकारले यो वर्षदेखि लगाउन थालेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ’ भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट सुरु भयो । सरकारले १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गरी खोप दिने योजना ल्याएको थियो ।
खोप थोरै भएकाले यो वर्ष सात जिल्लामा मात्र दिइएको छ । आगामी वर्ष देशैभरिका किशोरीलाई खोप दिइने सरकारको योजना छ । जटिल मानिने शल्यक्रियाको रुपमा कलेजो प्रत्यारोपण पनि पर्दछ ।
नेपालमा विसं २०७३ यता नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञहरुकै भरमा शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । अब त्यो अवस्था रहेन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाइमा कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो । वयस्कमा मात्र होइन मानसिक समस्याको भुक्तभोगी किशोरकिशोरी भइरहेका छन् ।
नेपालमा हेर्ने हो भने मानसिक स्वास्थ्यको उपचारका लागि सरकारीस्तरमा धेरै सेवा उपलब्ध छैनन् । त्यसमाथि किशोरकिशोरी लक्षित उपचार सेवा एकदम कम छन् । कान्तिबाल अस्पतालबाहेक सरकारी तहमा त्यो सुविधा नभएकाले यही वर्षदेखि मानसिक अस्पताल लगनखेलमा ‘किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ’ सुरु भएको छ ।
बढ्दो मानसिक समस्यालाई हल गर्न पक्कै यो प्रयास सार्थक हुनेछ । देशकै एकमात्र प्रसूति सेवासम्बन्धी रिफरल अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल कुपण्डोलस्थित नयाँ भवन यो वर्षदेखि सञ्चालनमा आएको छ ।
बिरामीको बढ्दो चापले सेवा दिन कठिनाइ भएका बेला भवन विस्तारले सहजता पाउने देखिन्छ । पाँच तले भवनमा आइभिएफ सेवा, सुरक्षित गर्भपतन सेवा, पाठेघरको क्यान्सरको जाँचलगायतका सुविधा प्रदान गरिने भएको छ ।
स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार पछिल्लो वर्ष देशभर ७६ हजारभन्दा बढी मानिस जलनबाट प्रभावित भएका छन् । संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीरअस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्ने बताए ।
उपचार एकदम खर्चिलो र सबै ठाउँमा उपचार सुविधा नहुँदा धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ । -रासस