बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगीमा मुद्दा दायर हुने भएको छ । सहकारी घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रतिवेदनको अध्ययन गरेर सोमबार मुद्दा दायर गर्ने सरकारी वकिलको तयारी छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउने राय अनुसन्धान प्रतिवेदनमा दिइएको छ । १ अर्ब २ करोड सर्वसाधारणको रकम घोटाला भएकाले सोही बराबरको बिगो दावी लिनुपर्ने प्रतिवेदनको राय छ ।
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुगाृ चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जनाबाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौंबाट पक्राउ परेका हुन् ।
सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।