काठमाडौं । नेपाली क्रिकेट खेलाडीका लागि तयार पारिएको जर्सी अमेरिकाबाट बिक्रि–वितरण हुने भएको छ ।
आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाएर खेल्ने जर्सी अमेरिकाबाट पनि बिक्रि–वितरण हुने भएको हो ।
विगत लामो समयदेखि नेपालमा खेल पोशाक उत्पादन तथा वितरण गर्दै आएको केल्मीद्वारा उत्पादित उक्त जर्सी पहिलोपटक अमेरिकी एकजोवेले बिक्रि गर्न लागेको हो । यसका लागि उसले केल्मी नेपालबाट आधिकारिक स्वीकृति लिएको केल्मीले जनाएको छ ।
एकजोवेले आसन्न मे महिनाबाट जर्सी बिक्री सुरू गर्नेछ भने गत शनिबारबाटै धमाधम प्रि–अर्डर तथा बुकिङ खुला गरिएको छ ।
अमेरिकाकी बिक्रेता एकजोवेका व्यवस्थापकद्वय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबीच मेरिल्यान्डको बाल्टिमोरमा सम्झौता भएको हो ।
अमेरिकामा नेपाली क्रिकेट टोलीको यो जर्सीको मूल्य ३९.९९ डलर तोकिएको छ । बिक्रि भएको प्रत्येक जर्सीबाट ३ अमेरिकी डलर नेपाली क्रिकेट खेलाडी रिलिफ फन्डमा जम्मा गरिने एकजोवेले बताएको छ ।