आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

वीरगञ्ज नाकाबाट एक वर्षमै भित्रिए ६८ हजारभन्दा बढी सवारीसाधन, १७ अर्बभन्दा धेरै राजस्व


  • 451
    SHARES
  • https://indrenipost.com/posts/9671
    साउन १४, २०८२ बुधबार
    वीरगञ्ज नाकाबाट एक वर्षमै भित्रिए ६८ हजारभन्दा बढी सवारीसाधन, १७ अर्बभन्दा धेरै राजस्व

    वीरगञ्ज पर्सा, १४ साउनः नेपालको प्रमुख भन्सार नाकामध्ये एक वीरगञ्ज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका छन् । यी सवारीसाधनको आयातबाट राज्यले ठूलो मात्रामा राजस्व संकलन गर्न सफल भएको छ ।
    भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, इन्धनबाट चल्ने मोटरसाइकलदेखि ठूला निर्माण उपकरण, ट्रक, जीप र विद्युतीय गाडीसमेत गरी विविध खालका सवारीसाधन वीरगञ्ज नाकाबाट भित्रिएका हुन् ।
    गत आव २०८०।८१ मा मात्र इन्धनबाट चल्ने सवारीसाधनको आयातबाट मात्रै १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
    सवारीसाधनमध्ये सबैभन्दा बढी ५० हजार २९१ वटा अनएसेम्बल्ड मोटरसाइकल भित्रिएका छन्, जसको मूल्य लगभग छ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसबाट छ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
    त्यसैगरी, दुई अर्ब ९४ करोड मूल्यका १,४५४ वटा बस तथा ट्रकका चेसिस, दुई अर्ब एक करोड मूल्यका ९१२ वटा जीप, कार तथा भ्यान, एक अर्ब ३७ करोड मूल्यका ५,७३५ वटा ट्रयाक्टर र ट्रिलर, एक अर्ब ११ करोड बराबरका ४१७ वटा बस, ७१ करोडका १३९ वटा क्रङ्क्रिट मिश्रण लहरी र ७४ करोड मूल्यका ३१२ वटा ट्रक तथा मिनी ट्रक भित्रिएको तथ्याङ्क छ ।
    त्यस्तै, ४३ करोड ३१ लाख मूल्यका ४,६४६ वटा मोटरसाइकल पनि आयात भएका छन् ।
    पछिल्लो समय बढ्दो वातावरणीय सचेतनासँगै विद्युतीय सवारीसाधनको आयातमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। गत वर्ष २,३३७ वटा साना–ठूला विद्युतीय सवारीसाधन वीरगञ्ज नाकाबाट भित्रिएका थिए, जसको मूल्य एक अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो। यस्ता सवारीबाट एक अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
    यो तथ्याङ्कले वीरगञ्ज नाका मुलुकको सवारीसाधन आयातमा मुख्य प्रवेशद्वार भएको पुष्टि गर्दछ भने सरकारको राजस्व संकलनमा यस नाकाको योगदान उच्च रहँदै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij