इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सविरुद्ध दबदबापूर्ण जित निकालेको छ । पहिले ब्याटिङ गरेको गुजरातको ब्याटिङ दिल्लीका अगाडि चल्नै सकेन ।
जसका कारण गुजरात ८९ रन बनाउँदै १७.३ ओभरमा अलआउट भयो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ८.५ ओभरमा चार विकेट गुमाएर ६७ बल बाँकी छँदै ९२ रन बनायो ।
यससँगै दिल्ली ६ विकेटले विजयी भयो । दिल्लीका लागि राशिद खानले सर्वाधिक ३१ रन जोडेका थिए । त्यस्तै साइ सुदर्शनले १२ तथा राहुल तिबतीयाले १० रन बनाउनेबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउ सकेनन् ।
ऋद्धिमन साह २ रनमा आउट हुँदा शुभमन गिल ८ रन बनाउँदै पेभेलियन फर्किए । त्यस्तै डेभिड मिलर २, अभिनव मनोहर ८, साहरुख खान शून्य, मोहित शर्मा २ र नुर अहमद १ रनमा आउट भए ।
स्पेन्सर जोनसन १ रनमा नटआउट रहे । दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिँदा इशान्त शर्मा र त्रिस्तान स्टबसले २/२ विकेट लिए । त्यस्तै खलील अहमद र अक्षर पटेलले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका पृथ्वी शले ७, जेएफ म्याकग्रुक २०, अविशेक पोरेल १५ तथा साइ होप १९ रनमा आउट भए । रिशव पन्त १६ तथा सुमित कुमार ९ रनमा नटआउट रहे ।
बलिङतर्फ गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेन्सन जोनसन र राशिद खानले १/१ विकेट लिए । यससँगै ७ खेल खेलेको दिल्ली ६ अंकसहित छैटौँ स्थानमा छ भने समान खेलमा समान अंकसहित गुजरात सातौँ स्थानमा छ ।
आईपीएलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्सको खेल राति पौने ८ बजे सुरु हुनेछ ।