काठमाडौं । राजनीतिमा संलग्न शिक्षकलाई कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले निर्वाचन आयोगसँग विवरण माग गरेकी छन् ।
राजनीतिक दलसँग आबद्ध शिक्षकहरूबारे मन्त्रालयमा परेका उजुरी यकीन गरी कारवाही गर्ने सहजताका लागि आयोगलाई पत्राचार गरिएको शिक्षा मन्त्रालयले जानकारी दिएको हो ।
निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको शिक्षक, कर्मचारीहरूको विवरण र राजनीतिक दलका कार्यकारिणी समितिका पदाधिकारीहरूको विवरण भिडाएर हेर्नेछ ।
त्यसक्रममा शिक्षक, कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा बसेको पाइएमा शिक्षा ऐनअनुसार पदबाट हटाउनेसम्मको कारबाही प्रक्रिया अघि बढ्नेछ ।
शिक्षकहरू दलको सक्रिय सदस्य रहेको, विभिन्न कार्यसमितिमा रहको र महाधिवेशन प्रतिनिधि बनेको जस्ता उजुरी तथा गुनासो मन्त्रालयमा प्राप्त भएका छन् ।
मन्त्रालयले केही दिनअघि मात्रै दलमा आबद्ध शिक्षकरकर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाइसकेको छ ।
कतिपय जिल्ला इकाइले कारबाही पनि अघि बढाइसकेका छन् ।