काठमाडौं । सत्ता साझेदार पार्टी नेकपा (माओवादी केन्द्र)ले आउँदो पुषमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनमा निर्वाचन प्रक्रियाबाटबाट नयाँ नेतृत्व छनोट गर्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुनले जानकारी दिए ।
माओवादी केन्द्रले पुष ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सो सम्मेलन गर्नका लागि वडा, नगर, जिल्ला, प्रदेश, संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै छनोट भएर आउनुपर्ने गरि कार्यविधि बनाइएको छ ।
वडादेखि केन्द्रसम्म झन्डै २ लाख ८५ हजार नयाँ नेतृत्वका लागि निर्वाचनमार्फत नै नेतृत्व छनोट हुने छन् । राष्ट्रिय सम्मेलनअघि नै वडादेखि केन्द्रसम्म कमिटीको सम्मेलन सकिनेछ र नयाँ नेतृत्व चयन हुनेछ । त्यस्तै निर्वाचन कार्यविधिमा उल्लेख गरिएअनुसार अध्यक्ष र अन्य पदाधिकारीको चयन पनि निर्वाचनबाटै हुने भएको छ ।
अस्ति (सोमबार) माओवादी केन्द्रको केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट छनोट हुने बताए । त्यसैअनुसार तयारीमा जुट्न मातहतका कमिटीलाई निर्देशन दिएको पुनले बताए ।
उक्त बैठकमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे पनि प्रशिक्षण दिएका थिए । श्रेष्ठले आफ्ना नेता तथा कार्यकर्ता विस्तारै अनुशासन र पार्टीको आचारसंहिता विपरीत चल्ने गरेको आरोपसमेत लगाए । पार्टीलाई वडादेखि केन्द्रसम्म एकढिक्का र मजबुत बनाउन अनुशासित, मर्यादित र भयरहीत ढंगले अगाडि बढ्न सुझाव दिए ।
श्रेष्ठले भने, ‘देशमा आमुल परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा गर्नका लागि माओवादी केन्द्रले विगतका वर्षमा जसरी सकारात्मक भूमिका निर्वाह गरेको छ, ठीक त्यसरी नै आगामी वर्षमा पनि हाम्रो भूमिका सकारात्मक नै हुनेछ ।’ केहीँ पश्चगमन र दक्षिणका मतियारहरूले प्रतिगमनकारी भूमिका निर्वाह गरेपनि माओवादी केन्द्रले त्यसलाई अंगिकार नगर्ने समेत बताए ।
बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच÷पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै वडा, नगर तथा गाउँपालिका निर्वाचन कमिटी गठन गरि निर्वाचन केन्द्रित काम अघि बढाउने पनि उनले जानकारी दिएका छन् ।
त्यस्तै पुनले भने, ‘विगत लामो समयदेखि हाम्रो राष्ट्रिय सम्मेलन भएको थिएन र भएका सम्मेलनहरू प्रायः निर्वाचन प्रणालीबाट सम्पन्न हुन सकेनन् । पार्टीमा अधिकांश नेता तथा कार्यकर्ताको छलफल र सहमतिका आधारमा नेतृत्व चयन गरियो । अब उप्रान्त निर्वाचन प्रणालीबाटै नयाँ नेतृत्व छनोट हुनेछ ।’