काठमाडौं । ‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूुलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ,’ यो अभिव्यक्ति दिने उनै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा साउन ९ गते पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीका सबै सांसदलाई मन्त्री पद चाहियो भन्दै दबाब आएकोले आफू तनावमा भएको बताए ।
प्रचण्डको यो अभिव्यक्तिले माओवादी केन्द्रका सांसद त असन्तुष्टि नै छन् भने अन्य नेताहरू पनि खुसी नभएको प्रष्ट हुन्छ । जनताद्धारा निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री, मन्त्री राजदूत लगायतका पदहरूमा उनीहरूले दाबी गर्न पाउनु स्वभाविकै हो । ‘त्यो उनीहरूको क्षेत्राधिकारभित्र पर्ने विषय पनि हो । यद्यपि सांसदहरूले आफ्नो पार्टीको अध्यक्षसँग मन्त्रीपद चाहियो भन्नु पनि अन्यथा होइन ।
तथापि सर्वोच्चले नेकपा बदर र माओवादी केन्द्र ब्युँत्याएसँगै पार्टीमा कुनै विवाद नभएको बताउने उक्त पार्टीभित्र यतिबेला मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सत्ता साझेदार दल माओवादी केन्द्रलाई मन्त्रीहरूको नामावली छिट्टै पठाउन यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् । तर अध्यक्ष प्रचण्डले हालसम्म पनि कुनै मन्त्रीको नामसमेत पठाउन सकेका छैनन् ।
यो थाहा पाएर सांसदहरूले मन्त्रीहरूको नाम तत्काल सिफारिस गर्न प्रचण्डलाई दबाब दिएका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए । उनका अनुसार, ‘लामो समयसम्म मन्त्रिपरिषद् विस्तार नहुनु लज्जा बोध भएको बताए ।
गठन्धन भित्रका दलहरूको आन्तरिक समस्या नभएका होइनन् । तर त्यसलाई विस्तारै समाधान गर्दै जानुको विकल्प नभएको उनको तर्क छ । योबीचमा ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने उनको धारणा छ ।’ मन्त्रिपरिषद् ढिलाइ हुनुमा नेतृत्वको कमजोरी भएको भन्दै आफूहरूले प्रश्न उठाएका छौँ, उनले भने । आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीको नामावली नटुंगिएको बुझिएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने वा प्रतिस्थापन गर्ने भन्ने विषयमा विवाद भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । यहीँ विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा)ले तत्काल मन्त्रिपरिषद्मा आफ्ना मन्त्री नपठाउने अडान लिएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा विवाद हुँदाहुँदै पनि आज (बुधबार) काँग्रेस नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । यो विषयलाई लिएर काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । उसले आफ्नो पक्षको छुट्टै बैठक बसालेर यस विषयमा छलफल गरेका छन् ।