काठमाडाैं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताएका छन् । अधिकारसम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले प्रचारबाजीका लागि मात्र नभई जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आएको बताए ।
‘जेजति योजना हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आमजनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले बागमती नदी किनारमा रहेका मन्दिरको पुनःनिर्माण र जीर्णाेद्धार गरिएको जानकारी दिए । धेरै सम्पदा रहेको बाग्मती नदी किनारमा ‘हेरिटेज वाक’को चर्चा भए पनि काम प्रभावकारी हुन नसकेको प्रति उनले असन्तुष्टि जनाए ।
हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए । उनले नदीहरूको कोरिडोर निर्माण प्रभावकारी रूपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए ।
‘हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउने हो । त्यसका लागि योजना बनाएर अगाडि बढ्नेबाहेक हामीसँग अरु उपाय छैन,’ उनले भने ।